भदौ १ गतेदेखि विद्यालय सञ्चालन नगर्न भन्दै अखिलले निकाल्यो विज्ञप्ति

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालनसम्बन्धी संयन्त्रले सरकारले जारी गरेको सूचनालाई गलत अर्थ लगाई आगामी भदौ १ गतेदेखि पठनपाठन शुरु गर्न दिएको निर्देशनप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्ला समय कोभिड–१९ को जोखिम झन् बढेको भनी स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिइरहेको अवस्थामा विद्यालय सञ्चालन र नियमित पठनपाठन गर्ने कार्य नगर्न अनेरास्ववियुले आग्रह गरेको छ ।

अनेरास्ववियु सह–संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘बालबालिकाको स्वास्थ्य र सुरक्षाप्रति सचेत नभई विद्यालय खोल्ने कार्य अपराध हो । त्यसैले नाफा कमाउने बहानामा बालबालिकाका सुरक्षामा जोखिम निम्त्याउने कार्य कुनै पनि हालतमा नगर्न र सम्पूर्ण विद्यार्थीको निःशुल्क पिसिआर परीक्षण तथा कोरोना बीमा गर्न माग गर्दछौँ ।’

मुलुकका केही स्थानमा कोरोना सङ्क्रमण समुदायस्तरमा समेत विस्तार भएको पाइएको जनाउँदै अनेरास्ववियूले सीमा नाका तथा सहरी क्षेत्रमा पिसिआर परीक्षणको दायरालाई व्यापक बनाउन पनि माग गरेको छ ।