नागपञ्चमीको महत्व

श्रावणी शुक्ल पञ्चम्यां नागपूजां करोति यः ।
इह लोके सुखं भूत्वा स्वर्गलोक महियते ।।
नागचित्रं यस्यद्वारे योस्थापयदि नित्यस ।
नाग भयात् प्रमुच्यते गृहे कल्याण सर्वदा ।।

श्रावण शुक्ल पञ्चमीको विशेष महत्त्व रहेको छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्व मान्ने परम्परा रहिआएको छ । श्रवण शुक्लपञ्चमीको दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन भन्ने विश्वास गरिन्छ ।

गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागको चित्र वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा आजा गरी दही,दूध , दूबो, कुश , फूल, मास , सिन्दूर, चन्दन , अबिर , केशर आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको मूल ढोकामा टाँस्नाले कालसर्प आदि दोष निवारण हुने वज्रभय, अग्निभय, सर्पभय,र विषालु जन्तुहरुको भय नहुने एवं घरमा सदा सर्वदा सुख शान्तिको वातावरण भई रहने अनि नागको पूजा र प्रार्थना गर्नाले सर्पहरुका राजा नागदेवता खुसी भई मनुष्य लाई सुख शान्ति प्रदान गर्नु हुन्छ र स्वर्गलोक सम्मको सुख समेत प्राप्त हुन्छ भन्ने कुरा उक्त मन्त्रद्वारा स्पष्ट बताएको छ ।

हिन्दु धर्ममा लेखिएअनुसार नाग लाई देवताको रूपमा पूजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्त्व रहदै आएको पाइन्छ । भगवान् शंकरजीको आभुषण होस् वा भगवान् विष्णुजीको शैया होस्, विभिन्न स्थानमा नागको स्वरूप र आकार प्रकार सचित्र देख्न पाइन्छ ।

पौराणिक कथनअनुसार राजा परीक्षितका छोरा जन्मेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

त्यस्तै भविष्योत्तर पुराणमा पनि नाग पञ्चमीको चर्चा गरिएको छ यो पर्व हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । नागहरूमा पानी पार्ने शक्ति भएको विश्वासले गर्दा वर्षाकालमै नागपूजा गरिन्छ।

नागपञ्चमी को दिनमा नागको मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने परम्परा छ। सर्पलाई गहनास्वरूप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरूपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ। घरभित्र सर्प नपसुन् भनेर मूलढोकाको माथिल्लो भागमा अष्टनाग र कालिय दमन चित्र टाँसिन्छ।

वासुकिः तक्षकश्चैव कालियो मणिभद्रकः।
ऐरावतो धृतराष्ट्रः कार्कोटकधनंजयौ ॥
एतेऽभयं प्रयच्छन्ति प्राणिनां प्राणजीविनाम् ।।
भविष्योत्तरपुराणमा उल्लेख नागका नामहरु यस प्रकार रहेका छन् , –वासुकि , तक्षक, कालिय, मणिभद्रक , ऐरावत, धृतराष्ट्र , कार्कोटक र धनंजय –

अष्टनागको नाम स्मरण गर्दै व्रत बस्ने विधान पनि छ। यसै क्रममा अनन्त (शेष), वासुकि, पद्म , महापद्म, तक्षक , कुलिर, कर्कट, शंखको नाम पनि आउँछ। त्यस्तै नवनागमा- अनन्त , वासुकि, शेष, पद्मनाभ, कम्बल, शङ्खपाल, धृतराष्ट्र, तक्षक, र कालियको नाम आउँछ , त्यस्तै कालसर्प योगको शान्तिका लागि – अनन्त, कुलिक, वासुकि, शंखपाल, पद्म, महापद्म, तक्षक, कर्कोटक, शंखचूड, घातक, विषधर, र शेषनागको नाम आउँछ ।

नागलाई पूज्ने अर्को कारण पनि छ । त्यो भनेको शक्तिको पूजा हो । पौराणिक कालमा विभिन्न ठाउँलाई लोकको रूपमा विभाजन गरिएको थियो । इन्द्र नामका राजा बस्ने लोकलाई इन्द्रलोक, त्यसै गरेर विष्णुलोक, शिबलोक, ब्रह्मलोक, यमलोक आदि राज्यहरू विभाजन गरिएका थिए । तिनै मध्येको एउटा नागलोक पनि हो जहा नागहरुको निवास छ ।

नागहरुको जन्म सम्बन्धमा संसारको आदि काल देखिनै नागजातिहरुको सम्बन्ध स्थापित छ, यसको वर्णन वेदव्यासले महाभारतको आदिपर्वमा गर्नु भएको छ, कद्रू र विनता दक्षप्रजापतिकि पुत्री हुन् र उनको विवाह कश्यप ऋषिसंग भएको थियो, कद्रूले वरदानको रुपमा सहस्र पराक्रमी नागअरुको आमा बन्ने प्रार्थना गरिन् र ऋषिको वरदान स्वरुप नागजातिहरु कद्रूका गर्भबाट हजारौं जातिका नागहरु जन्मेका हुन् भन्ने पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

सर्वे नागाः प्रीयन्तां मे ये केचित् पृथिवीतले ।।
ये च हेलिमरीचिस्था येऽन्तरे दिवि संस्थिताः ।
ये नदीषु महानागा ये सरस्वतीगामिनः ।
ये च वापीतडागेषु सर्वेषु वै नमः ।।

यस श्लोकको भाव यही हो कि जो नाग पृथ्वी, आकाश, स्वर्ग, सौर्यकिरण, कुवा , नदी , नाला , सरोवर तथा तलाउ आदिमा निवास गर्नुहुन्छ, उहाँहरु हामीदेखि प्रशन्न भइदिनुहोस् । हामी हजुरहरुलाइ बारम्बार नमस्कार गर्दछौ ।

नागदेवताको अस्तित्व र सम्बन्ध विभिन्न स्थानमा भएको पाइन्छ । ब्रह्मलोक, विष्णुलोक , शिवलोक र स्वर्गादि इन्द्रलोकमा पनि नागको वर्णन पाइन्छ , नागदेवताले धेरै ठाउँमा भगवान र देवी देवता एवं महापुरुष हरुलाई सहयोग र रक्षा गरेको उल्लेख पाइन्छ, भगवान विष्णु लाई प्रार्थना गर्दा शान्ताकारं भुजगशयनं भनिन्छ भगवान विष्णु शेष नागको शय्यामा विराजमान भएको पाइन्छ ।

भगवान शिवले वासुकि नागको माला बनाएर समाधि मग्न भएको देखिन्छ । रामायणमा लंकायुद्धमा राम र लक्ष्मण लाई नागपाशले बाँधिएका छन् भने महाभारतमा भीमसेन लाई नागलोकमा नागहरुले रक्षा गरेको पाइन्छ । देवता र दानव हरुले समुद्र मन्थन गर्दा नागको मदानी बनाई नागकै सहारामा समुद्रबाट चौध रत्न प्राप्त गरेको वर्णन पाइन्छ ।

गीताको दशौं अध्यायमा भगवान श्रीकृष्णले सर्पाणामस्मिवासुकि अनन्तश्चास्मि नागानां भन्नुभएको छ , सर्पहरुमा वासुकि नाग मै हुँ, र म नागहरुमा अनन्त ( शेष ) नाग हुँ । भगवान शिवको घाँटीमा नागको माला लगाएको पाइन्छ । भगवान श्रीकृष्ण जन्मिनासाथ वसुदेवले यमुना पार गर्दा नागलेनै छत्र बनी अोत दिएर रक्षा गरेको पाइन्छ ।

भगवान विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलराम लाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । महाभारतमा अर्जुनले नागजातिकी कन्या उलुपीसँग विवाह सम्बन्ध गाँसेको उल्लेख छ।

बौद्ध दर्शनमा पनि नागलाई संरक्षकको रूपमा स्वीकार गरिएको छ। शाक्यमुनी बुद्ध र पञ्चबुद्ध मध्येका अमोघसिद्धिलाई फणा फिजाएर नागले संरक्षण गरेको वर्णन बौद्ध ग्रन्थहरूमा छ। काठमाडौंका स्तुपहरूमा उत्तरतर्फ अभय मुद्रामा बस्ने अमोघसिद्धिलाई नागले फणा फिजाएर रक्षा गरेको दर्शाइन्छ। जैन धर्मावलम्बीहरूको तीर्थङ्करलाई पनि सर्पले फणा फैलाएर घामपानी रोकेको वर्णन पाइन्छ।

प्रकृतिमा नागको अहम् महत्त्व छ भनेर पूजाको माध्यम बाट सबैमा जानकारी गराइन्छ । सर्पले वायु मण्डलमा रहेको विषालु हावा सेवन गर्छ र मानिस लगायतका प्राणीहरुलाई विषाक्त हुने अवस्था बाट जोगाउँछ ।

प्रकृतिमा भएका भुसुनादेखि विशाल हात्तीसम्मको भूमिका आ–आफ्नो ठाउँमा महत्त्वपूर्ण छ। पृथ्वीमा भएका विष, काँडा, तिखादाँतधारी जीवहरू सबैको आ–आफ्नो कार्यले पर्यावरणको चक्रलाई गति प्रदान गरेको छ।

यस ब्रह्माण्डमा भगवानले जतिपनि जीव जन्तु , पशुप्राणी रुखबृक्षहरु श्रृष्टि गर्नुभयो, त्यसको पनि यस पृथ्वीमा केहीन केही भूमिका रहेको पाइन्छ , त्यही भूमिका र गुण लाई सम्झेर हामी सनातनी धर्मावलम्बीहरुले पशु,पंक्षी, नदी ,नाला , रुख, वृक्ष, पहाड पर्वत , जीव, जन्तुहरु लाई मान सम्मान र पूजाआजा गरि कृतज्ञता प्रकट गर्ने गरेका हौं, हामी प्रकृति पूजक हौं तसर्थ सबैको गुनलाई कदर र सम्मान गरौं ।

हाम्रा पर्वहरु धार्मिक पृष्ठभूमिमा उत्पत्ति भए पनि यसको विकास गर्न सामाजिक पक्षसँग जोडिएको छ , वास्तु शास्त्रमा भूमिमा पूजाअर्चना गर्दा नागको पूजा गर्ने विधान छ । नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।
नागको शिरमा खन्दा आफूलाई पीडा , पछाडि खन्दा सन्तान र पत्नीलाई दुःख , जाँघमा खने अनावश्यक व्यय हुने र पेट अथवा काँखमा खने सर्वत्र सफलता पाइन्छ भन्ने उल्लेख पाइन्छ ।
भाद्र , आश्विन र कार्तिकमा – पूर्वमा
मार्गशीर्ष , पौष र माघमा – दक्षिणमा
फाल्गुन , चैत्र र बैशाखमा – पश्चिममा
ज्येष्ठ , आषाढ र श्रावणमा – उत्तरमा
नागको शिर हुन्छ ।।।

-केशव आचार्य, थाइल्याण्ड