लकडाउन अन्त्य, भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा हुने, पठनपाठन भने नहुने

काठमाडौँ – सरकारले कोरोना भाइरसको महामारीका कारण चैत्र ११ गतेदेखि गरेको लकडाउन (बन्दाबन्दी) १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले लकडाउन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

लकडाउन अन्त्य भएको घोषणा गरिएपनि चैत्र ११ पूर्वको झैँ सामान्य अवस्थाका सबै प्रतिबन्धहरू भने अझै खुलाइएको छैन । प्रवक्ता डा. खतिवडाका अनुसार सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ ।

यस्तै लकडाउनमा स्थगित गरिएका तर के गर्ने भनेर निर्णय भइनसकेका परीक्षा पनि अब नरोकिने भएका छन् । तर पठनपाठन भने त्यो मितिबाट नहुने बताइएको छ । मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।

होटेल तथा रेष्टुरा साउन १५ गतेबाटै खुल्ने

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको सरकारका प्रवक्ता डा.खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरू गर्न दिइने भएको छ ।

सीमानाका साउन ३२ सम्म निषेध

सरकारले अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरेको हो ।

भदौ १ देखि लामो दूरीका यातायात पनि चल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।