पहिरोले सिन्धुपाल्चोकमा दुई घर बगायो, ५ बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङमा २ घर बगाएको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

सुनकोशी र भोटेकोशीमा बाढी आएपछि सतर्क रहन आह्वान

यसैबीच, सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी जलविरे बाढी मापन केन्द्रका अनुसार एक्कासी जलसतह १ मिटर बढेर बाढी बढ्दो क्रममा रहेको छ ।

यस्तै सिन्धुपाल्चोकको बाह्रबीसेस्थित भोटेकोशी नदीमा पनि एक्कासी बाढी आएकाले ती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।