जुम्लामा अनिश्चितकालिन कफर्यु आदेश जारी

काठमाडौँ – जुम्लाको सदरमुकाम खलङ्गामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । चन्दननाथ नगरपालिका – ५ को बजार क्षेत्रमा व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको हो ।

संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणबाट चन्दननाथ नगरपालिका – ५ को मुल बजार क्षेत्रको एक जना महिला व्यवसायीलाई समेत कोरोना भाइरसको संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो ।

२०७७ असार ३० गते दिउँसो ३ बजे देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो ।

औषधि पसल स्वास्थ्य सेवा बाहेक अरु सम्पूर्ण क्रियाकलाप पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । जुम्लामा ६५ जना कोरोना संक्रमित मध्ये ५१ जना निको भएर घर फर्केका छन् ।