एसइईको आन्तरिक मुल्याङ्कन निष्पक्ष बनाउन ५ बुँदे निर्देशन

काठमाडौँ – प्याब्सन र एनप्याब्सनले कोरोना भाइरसको महामारीका कारण स्थगित कक्षा १० को एसईई परीक्षाको आन्तरिक मुल्यांकनका नतिजा निष्पक्ष बनाउन ५ बुँदे निर्देशन दिएका छन् । दुवै संगठनका महासचिवले बुधबार एक विज्ञप्ति जारी गरी विद्यार्थीहरुको आन्तरिक मुल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष भई विद्यार्थीको मुल्यांकन गर्न तथा मुल्यांकनका आधारहरु समेत अभिलेख राख्न निर्देशन दिएका हुन् ।

साथै आफ्नो विद्यालयको कम्तिमा ३ बर्षको एसईई रिजल्टको समेत अध्ययन गर्न पनि निर्देश दिएका छन् । प्याब्सन महासचिव कुमार घिमिरे र एनप्याब्सन महासचिव सुवास न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक नगरुञ्जेल गोप्यता कायम गर्दै नतिजाको अनावश्यक प्रचारप्रसार नगर्ने ’ ।

गत चैत्रमा स्थगित एसइइ परीक्षा कोभिड–१९ का कारण सञ्चालन हुन नसकेपछि सरकारले आन्तरिक मुल्याङकनका आधारमा ग्रेडसिट उपलब्ध गराउने निर्णय गरेको थियो ।