४१ जिल्लामा बाढीको खतरा, अरुण नदी पनि थुनियो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ । मनसुन सुरू भएसँगै जारी वर्षाका कारण आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवनका स-साना खोलाहरूमा पनि वहाब बढ्ने सम्भावना छ ।

यस्तै गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङजा, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली र आसपास जिल्ला भई बहने स(साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अरुण नदी थुनियो

यसैबीच लगातरको वर्षासँगै गएको पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ । मकालु गाउँपालिका २ र ५ नम्बर वडा क्षेत्रमा पहिरो गएपछि अरुण नदी थुनिएर ताल बनेको हो । आइतबार बिहान साढे ९ बजे गएको पहिरोका कारण तालबनेपछि नदी किनाराको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथिबाट खसेको पहिरोले अरुण नदी थुनिएर जमेको पानी क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।

फाइल तस्वीर :