ऋण पनि पत्याएनन्, बाध्य भएर अभिभावक गुहार्यौँ : प्याब्सन अध्यक्ष पुरी

काठमाडौँ – निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले पुराना बक्यौता पूरा गरी नयाँ शैक्षिक सत्रदेखिको शुल्क भुक्तानी गर्न अभिभावकसँग संयुक्तरुपमा अपिल गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै दुवै संस्थाले निजी विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकको शुल्क भएको भन्दै विद्यालयमा उपस्थित भई सहयोगका लागि आग्रह गरेका हुन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ –‘विद्यालयमा नयाँ विद्यार्थीहरु भर्ना तथा शैक्षिक सत्र २०७७ मा अध्ययन गर्ने विद्यार्थीहरुको तथ्याङ्क अद्यावधिक गरी शैक्षिक लगायत अन्य गतिविधिमा शिक्षक–कर्मचारीहरु परिचालन गर्नका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्न नेपाल सरकारका तर्फबाट आजका दिनसम्म कुनै पनि प्रकारको सहयोगको आश्वासन समेत प्राप्त नभएको अवस्थामा निजी विद्यालयको एक मात्र आर्थिक श्रोत विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क संकलन हुन नसकेको विषम परिस्थितिमा अभिभावकवर्गको भूमिका अत्यन्तै महत्वपूर्ण हुने हुदाँ

बाचौं र बचाऔंको मर्मलाई ख्याल गर्दै अभिभावकज्यूहरुबाट सकारात्मक सहयोग प्राप्त नभएमा निजी विद्यालयहरु अत्यन्तै जटिल अवस्थामा पुगि सम्पूर्ण शैक्षिक गतिविधिहरु समेत प्रभावित हुने हुँदा आदरणीय अभिभावकज्यूहरुले सामाजिक दुरी कायम हुने गरी विद्यालयमा उपस्थित भई आ–आफ्ना छोरा–छोरीको (नयाँ तथा पुरानो) अभिलेखीकरण गराउने, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयलमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी र सहयोगी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिमा निजी शैक्षिक संस्थाहरु स्थापनाकाल देखिनै अभिभावकहरु, विद्यालय व्यवस्थापन–प्रशासन, शिक्षक–कर्मचारीको त्रिकोणात्मक समन्वय र सहकार्यबाट संचालन भएकाले शैक्षिक गुणस्तरसँग कुनै सम्झौता नहुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ –‘शिक्षा ऐनमा व्यवस्था भए बमोजिम वर्षमा १९२ दिन पढाईको लक्ष्य प्राप्त गर्न हामी सरोकारवाला निकायसँग समन्वय गर्दै नयाँ शैक्षिक क्यालेण्डर निर्माणका साथै पठन–पाठनलाई प्रविधिको अधिकतम् प्रयोग गरी अनलाईन लगायत टेलिभिजन/रेडियो जस्ता माध्यमबाट निरन्तरता दिँदै कोभिड १९ का कारणले अभिभावकवर्गको आर्थिक अवस्थामा पर्न गएको प्रभावको अध्ययन गरी अभिभावकहरुलाई अधिकतम राहत पु-याउन कटिबद्ध छौं ।’

लकडाउनका कारण विद्यालयहरु लगातार बन्द रहँदा विद्यालयको आम्दानी शून्य भएको तथा विद्यालयहरुमा आश्रित २ लाखभन्दा बढि शिक्षक–कर्मचारी तथा उनीहरुका परिवारजनको जीवनयापनमा समस्या भएकाले तथा भाडामा सञ्चालित विद्यालयहरुले भाडा तिर्न नसकेको तथा बैंकको ऋणको साँवा–ब्याज/किस्ता बुझाउन नसकेकाले बाध्य भएर अभिभावकसँग अपिल गर्नुपरेको प्याब्सन अध्यक्ष टीकाराम पुरीले खुल्लापाटीलाई जानकारी दिए । उनले भने –‘ यस्तो अवस्थाले गर्दा मुलुकको शैक्षिक क्षेत्रमा ३० प्रतिशत हिस्सा ओगट्ने निजी शैक्षिक संस्थाको अस्तित्व माथि नै प्रश्नचिन्ह लागेको छ ।’

यसअघि प्याब्सनका अध्यक्ष पुरीले अर्थमन्त्रीसँग भेट गरी सहयोगको आग्रह गरेका थिए ।

ऋण पनि पत्याएन राज्यले

यसैबीच प्याब्सन अध्यक्ष टीकाराम पुरीले राज्यले ऋण पनि नपाएको दुःखेसो गरेका छन् । खुल्लापाटीसँग उनले भने –‘आखिर अनुदान मागेका होइनौँ । ऋण नै हो । अब धान्न सकेनौँ भन्दा आश्वासन मात्र पाईयो ।’

अर्थमन्त्री खतिवडासँगको भेटमा के खाश के कुरा भएको भन्ने खुल्लापाटीको प्रश्नमा उनले भने –‘उहाँले सरर्सल्लाह गर्नुपर्छ भन्नुभयो । पोलिसी बनाएर राष्ट्रबैंकसँग सर्सल्लाह गर्ने भन्नुभयो । हेरौँ । ’

प्याब्सनका अनुसार प्रशासनिक खर्च पनि धान्न नसक्ने ४० प्रतिशत निजी विद्यालय बन्द हुने सँघारमा पुगेका छन् । कतिपय ठूला स्कुलले बन्द अवधिको शुल्क लिएपनि साना विद्यालय भने सञ्चालन हुन सक्ने अवस्थामा नरहेको स्वय सञ्चालकहरुकै भनाइ छ ।

यसअघि इष्टु र अभिभावक महासंघले शुल्क उठाएर भएपनि शिक्षक कर्मचारीलाई तलब खुवाउन आग्रह गरिसकेका छन् । दुवै संस्थामा करिब ८ हजार निजी विद्यालय आबद्ध छन् ।

हेर्नुहोस् विज्ञप्ति :