कोरोना संक्रमित ९ हजार २६ जना पुगे

काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार एकैदिन ४२१ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थप ४२१ जनामा संक्रमण देखिएको हो । आज थपिएका संक्रमितहरुमध्ये ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन् । हालसम्मका कूल संक्रमितहरुमा ८३० जना महिला र ८२०६ जना पुरुष रहेका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म १७७२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । मृतक गुल्मीका ६९ बर्षीय पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म नेपालका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।