आज सूर्य ग्रहण : ग्रहणका बेला के गर्न हुन्छ के गर्न हुँदैन ?

काठमाडौँ – आज आषाढ कृष्ण औँसी । आजको दिन खण्डग्रास अर्थात आधा सूर्य ढाक्ने गरी सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने उनले जानकारी दिए । ग्रहण तीन घण्टा ३३ मिनेटसम्म लाग्नेछ ।

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र हुने, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । सुतक लागेपछि भोजन गर्न निषेध छ । यस अनुसार शनिबार राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन ।

आइतबारको सूर्यग्रहण मृगशिरा र आद्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न मिल्ने छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आइतबारको मात्र रहेको समितिले जनाएको छ ।

ग्रहणका कोही सूतक,कोही निषेधहरू गरी ३ प्रकारका बार्नुपर्ने कृत्य हुन्छन् ।
१) ग्रहणको सूतक ग्रसित अवधिभरमात्र रहन्छ । यसपालि १०।५०देखि १४।२३सम्म । यसअवधिमा गर्नुपर्ने –
क)स्पर्शमा स्नानगरेर शुद्धासनमा बसेर गुरुबाट विधिवत् लिएका मन्त्रहरुको जस्तै गायत्री,दुर्गा ,शिव,विष्णु अादि दीक्षितमन्त्रहरूको जप गर्नै पर्ने ।
ख)नयाँ मन्त्र ग्रहण गर्न सकिने (संस्कारपरक भने होइन )।
ग)वीचमा हवन,दान आदि ।
घ) ग्रहणनिमित्तक श्राद्ध,अन्नदानादि।
ङ) दशाहादिकर्म,एकादशाह,द्वादशाह,त्रयोदशाहको उत्तरपाथेय श्राद्ध।
च) मातापिता आदिको परि परिआउने तिथिश्राद्ध(यसपालि प्रतिपदाको श्राद्ध)।
छ)मोक्षस्नान१४।२३पछि।त्यसपछि भोजन पकाएर सेवन गर्ने ।
ज)खानेपानीमा कुश विहान‌ै राख्ने ।
झ) क्रियापुत्रीले पिण्डदान पछि अशक्त वाहेकको अवस्थामा मोक्षस्नान अनिवार्य गरेरमात्र भोजन पकाएर सेवन गर्ने ।
२)भोजन निषेधको अवस्था
असार ६गते वेलुका १०।५०अर्थात् २२।५० देखि भोलि मोक्षकाल दिवा २।२३बजे अर्थात् १४।२३सम्म
वृद्ध ,रोगी ,अशक्तबाहेकलाई सर्वथा भोजननिषेध ।

यसभित्र के के गर्न हुने ?
क)७गते विहान १०।५०सम्म नित्यसन्ध्या , देवपूजा ,होम,जन्मोत्सवादि पूजा (भोजन निषेध )।
ख) देवलयादिका नित्य पूजा र सम्बन्धित समस्त कर्महरू।
ग)नित्यदानादिका सबै कर्महरू।
घ)बाह्मणले यसवीचमा टीका लगाउन,दानलिनअादि हुने भोजनमात्र गर्न नहुने ।

३)ग्रहणमा माङ्गलिक कार्य कति दिन अघि / पछि निषेध —
क)सामान्यतया नान्दीश्राद्ध गरेर गरिने कार्यलाई माङ्गलिक भनिन्छ ।विशेष माङ्गलिक कार्यमा चूडा,व्रतबन्ध र विवाहलाई लिइन्छ ।यी दुबै माङ्गलिक कार्य सूर्यको खग्रासग्रहणमा अौशी+४+४=९दिन अघि पछि गरेर।
ख)खण्डग्रासमा ३+३ र औँशी =७दिन।
ग) चन्द्रग्रहणमा वर्ज्य दिनसंख्या कम छ।
घ) ग्रहणपरेको नक्षत्र ६ महिनासम्म शुभकार्यमा वर्जित छ।