पाँचहप्ता भन्दा बढी समय कोरोना संक्रमण देखिए दीर्घकालसम्म निको नहुने संकेत

एजेन्सी कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु कोरोना संक्रमणको असर रहिरहने संकेत भएको बैज्ञानिकहरुले बताएका छन । किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरुले कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घकालसम्म कोरोना रहेको संकेत भएको बताएका हुन् ।

अनुसन्धान अनुसार संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने दीर्घ कोभिड हुने खतरा हुन्छ । कोरोना संक्रमण भएको चार देखि आठ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुने बैज्ञानिकको भनाइ छ ।

यस्ता बिरामीमा कोरोना नेगेटिभ भइसकेर पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भैरहने अनुसन्धानकर्ताको भनाइ छ । बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए ।

बेलायत र स्विडेनमा गरिएको अनुसन्धानमा २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको पाइएको छ । १ सय ९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको छ । एक सय जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा महशुष गरेको पाइएको छ ।

कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिएको छ । अनुसन्धानकर्ताले यी घटनाले लामो समयसम्म कोरोना भाइरसको असर हुन्छ भन्ने प्रमाणित गरेको भन्दै संक्रमणमुक्त हुनेबित्तिकै काममा सक्रिय भैहाल्नु नहुने बताएका छन् ।