गण्डकी प्रदेशमा संक्रमित ५०० नाघे

काठमाडौँ – गण्डकी प्रदेशमा आज थप नयाँ १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोराना सङ्क्रमितको संख्या पाँच सय चार पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज प्रेस विज्ञप्ती जारी गर्दै आज चार जिल्लाका थप १६ जनामा कोराना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशक एबं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार सङ्क्रमित हुनेहरुमा बागलुङमा नौ जना, म्याग्दीमा चार जना, पर्वतमा दुई जना र तनहुँमा एक जना रहेका छन् ।

उहाँका अनुसार बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका पुरुष, बागलुङ नगरपालिकाका २१ वर्षिय एक पुरुष र ढोरपाटन नगरपालिकाका ४८ वर्षिय पुरुष संक्रमित भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिकाका ९ वर्षिया बालिका, ३० वर्षिय एक महिला र ३३ वर्षिय एक पुरुष, मंगला गाउँपालिकाका २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएका छ ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिकाका ३२ र २७ बर्षिय पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षिय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।