प्रिमियर लिग : आर्सनलको दोस्रो हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातको खेलमा आर्सनल लगातार दोस्रो पटक पराजित भएको छ । शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २–१ गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनसँग पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन । खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २–१ को जीत दिलाए । यससँगै आर्सनल दोस्रोपटक हार व्यहोर्न बाध्य भएको हो । यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ । ब्राइटन भने ३२ अंकसहित लिगको १५ औं स्थानमा रहेको छ ।