एन्फामा २२ वर्ष बसेकाले नगरेका कार्य २२ महिनामा गरेको छु : कर्माछिरिङ शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव आगामी असार ६ गते काठमाडौँमा हुँदैछ । सबैभन्दा ठूलो खेलकुदको संस्था एन्फाको चुनावलाई सबैले चासोपूर्वक हेरेका छन । एन्फाको आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, पंकज विक्रम नेम्बाङ र राजीवराज पौडेल प्रतिस्पर्धामा छन । एन्फामा सुशासन, पुर्वाधार विकासका विविध विषय र एन्फामा आगामी दिनका लागि के कस्ता योजना छन ? यी समग्र विषयबारे एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग खुल्लापाटीले गरेको कुराकानी :

एन्फाको चुनाव नजिकिँदै छ ? चुनावले कत्तिको छोएको छ ?

निर्वाचन एउटा नियमित प्रक्रिया हो । नियमित प्रक्रिया भएकाले नियमित लिएको छु । ४ वर्षको कार्यकालमा हामीले कतिपय काम कोरोनाका कारण गर्न पाएनौँ । कतिपय अधुरो कार्य पूरा गर्न यस पटक पनि हाम्रो प्यानलको जित जरुरी छ । हाम्रो मुल नारा नै ‘नेपाली फुटबलमा संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यवसायिकता हाम्रो अभियान’ हो ।

तपाइँ नेतृत्वमा आएपछि गत  ४ वर्षमा गरेको उत्कृष्ट कार्य के हो ?

उत्कृष्ट उपलब्धि धेरै भएका छन । महिला फुटबलमा ४ ओटा अन्तर्राष्ट्रिय उपविजेता नै बन्यौँ । साउथ एशियन गेममा गोल्ड मेडल जित्यौँ । थ्रि नेशन्स कपमा हामीले आयोजना ग¥यौँ र च्याम्पियन नै बन्यौँ । साफ च्याम्पियनशीपमा फाइनलमा पुग्न सफल भयौँ । वल्ड कप क्वालिफाइङ, एएफसी कपको म्याचमा क्वालिफाइङमा सहभागी भएका छौँ । अन्तर्राष्ट्रिय फुटबल मात्र ७० बढी गेममा सहभागी भयौँ । विगतका भन्दा यो धेरै नै हो ।

हामीले एन्फाको जिम्मेवारी लिनुअगाडि लिग नै सञ्चालन राम्रोसँग हुन सकेको थिएन । लिग फुटबल विकासको मेरुदण्ड हो । आर्थिक रुपमा एन्फा टाट पल्टाइएको अवस्थामा पनि क्लबहरुसँग व्यापक छलफल गरी कोभिडको बाबजुद दैनिक ३ संस्करण त्यो भनेको ए डिभिजिन, बी डिभिजन, सी डिभिजन र क्वालिफाइङ म्याचेजहरु हामीले समाप्त ग-यौँ । कोभिडका बेलामा पनि विना दर्शक नै भएपनि खेलाडिको खेल क्षमता ह्रास नआओस् भनेर खेल खेलाइरह्यौँ ।

एन्फाको अफिस व्यवस्थित गर्न विभाग, नीति निर्माण, आर्थिक नियमावली, कार्यसञ्चालन नियमावली, खेलाडि दर्ता नियमावली, कर्मचारी नियमावली, संघीय संरचना अनुरुप विधानको व्यवस्थामा परिवर्तन लगायतका विभिन्न कार्य ग-यौँ । कर कार्यालयमा एन्फा नै अपडेट थिएन हामीले अपडेट ग¥यौँ । खेलकुद परिषदमा नवीकरण ग-यौँ । यत्र तत्र सर्वत्र बिगारिएर छाडिएको अवस्थामा विस्तारै सबै मिलाउँदै लग्यौँ । टेक्निकल डिपार्टमेन्ट नै बनायौँ । डाइरेक्टर हेड नियुक्त ग-यौँ । फुटबलको गन्तव्यको सिद्धान्त नै थिएन । यसैका आधारमा पाठ्यक्रम, निर्देशन लगायत तय गरियो । दक्ष जनशक्ति तय गरियो ।

हिजो कोचिङ कोर्ष गर्न खेलाडि वा पूर्व खेलाडिलाई वर्षौँ कुनुपर्ने अवस्था थियो । हामीले एन्फा सम्हालेपछि अहिले नेपालले बि कोचिङ कन्भेन्सनको मान्यता पाएको छ । जुन भनेको फुटबलमा सि लाइसेन्स, बी लाइसेन्स, ए लाइसेन्स र प्रो लाइसेन्स हुन्छ । अहिले नेपालमा अब बी लाइसेन्स सम्मको कोच उत्पादन नेपालमैँ हुनसक्ने हैसियत बनेको छ । अर्को महत्वपूर्ण कार्य भनेको दक्ष जनशक्ति उत्पादन हुन सक्ने देखिएको छ ।

अर्को महत्वपूर्ण हाम्रो उपलब्धि भनेको ग्रासरुट फुटबल सञ्चालन हो । करिब ६० सेन्टरमा ग्रासरुट फुटबल सञ्चालन, ६ देखि १२ वर्षसम्मका १७ हजार ५ सय विद्यार्थीहरु सहभागी भए । यसले हामीलाई पनि ऊर्जा दियो । हामीले ग्रासरुट लिग, ग्रासरुट फेस्टिभल सञ्चालन ग¥यौँ । त्यो रिपोर्ट एएफसीमा पठाएपछि हामीले पहिलो पटक ब्रोन्च मेम्बरसीप एन्फाले प्राप्त ग¥यो । यसरी हेर्दा पूर्वाधार शुन्य थियो । लिग त गर्ने कसरी ? कहाँ भन्ने थियो यो सबै व्यवस्थापन गरियो । एन्फा स्कुल र एकेडेमीसँग समन्वय गरेर खेलाडि उत्पादनका लागि १० एकेडेमी सञ्चालन गर्न सफल बनेका छौँ । यसरी हेर्दा प्रशासनिक व्यवस्थापन, आर्थिक सुशासन लगायत फुटबल विकासका लागि अल्पकालिन दीर्घकालिन गरी होलिस्टिक डेभलपमेन्ट गर्न सफल भएका छौँ ।

२२ वर्ष हिजो गर्नेले के गरे अहिले कोभिडका कारण राम्रोसँग गर्न नपाउँदा उल्लेखित उपलब्धि २२ महिनाकै भनौँ । दाँजेर हेर्दा पनि स्पष्ट हुन्छ कि के के भए भनेर ।

अबको तपाईँको योजना के ?
क्षमता अभिवृद्धिको काम स्तरीय बनाउने । एन्फाको टेक्निकल कार्यक्रमहरुको डिजिटलाइज्ड गर्ने । खेलाडि दर्ता क्लब दर्ता लगायत सबै प्रविधिमैत्री बनाउने, लिग व्यवस्थित र लामो बनाउने, मोफसलमा फुटलबका विकासका लागि सशक्त कार्य गर्ने, स्कुल लिग गर्ने सोच छ । यसले गर्दा धेरै खेलाडि उत्पादन गर्न सहज हुनेछ ।

तपाईँले यति धेरै कार्य गरेको भए पनि फुटबलमा साग भन्दा पर पुग्न सकेको छैन किन ?

यो एकदमै राम्रो प्रश्न गर्नुभयो । मैँले यसैका लागि त काम गरिरहेको छु । फुटबलको डिजिटलाइज्ड अर्थात डाटा सेन्टर बनेपछि अनुसन्धानमुलक कार्य हुनेछ । डाटा सेन्टरले सबै खेलाडिको समग्र विषय समेटने छ । पहिलो त खेलाडि नै विकास गर्नुप¥यो । खेलाडि क्लब के कति छ भन्ने यसले विकास गरेपछि हामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कहाँ पुग्छौँ तय हुनेछ । फुटबल ग्राउण्ड नै नभई लिग कसरी जित्ने ? पुर्वाधार बनेपछि अनि मात्र फुटबलको समग्र विकासका आधार तय हुनेछ । युथ ग्रासरुटमा जति लाग्छौँ त्यति नै अघि बढन सकिनेछ । यो हचुवाका भरमा गरिने वा हुने विषय होइन अब भने आधार तय हुँदै जानेछ । मेरो अर्को कार्यकाल आएमा तपाईँले देख्नुहुनेछ ।

एन्फा वरियतामा पनि नेपाल किन राम्रो हुन सकेको छैन ?

हामीले नेतृत्व लिँदा १७१ औँ स्थानमा भएको नेपाल १६८ औँ स्थानमा पुगेको छ । वरियतामा सुधार भएन र ? यो विश्व फुटबलमा थियो । दक्षिण एशियामा हेरियो भने हामी तेस्रोमा छौँ । साउथ एशियन गेम जितेका छौँ । साफमा फाइनलमा पुग्यौँ । महिला र पुरुष वरियतामा सुधार भएकै छ । तर यसमा मात्र सन्तुष्ट हुने होइन । हो यो भन्दा अझै राम्रो गर्न सकिन्थ्यो । मलाई लाग्छ आगामी दिनमा हामी अझै राम्रो गर्नेछौँ जसले गर्दा वरियता सुध्रदै जानेछ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

संस्थागत विकास आर्थिक सबलीकरण र फुटबललाई संस्थागत र व्यवसायिकरणका लागि धेरे कार्य गर्नुछ । यसका लागि धेरै कार्य गर्न पनि आगामी कार्यकालका लागि मेरो नेतृत्वको टिमले जित्नुपर्छ । यसअघि कोरोनाका कारण कतिपय कार्य गर्न पाएका छैनौँ र कतिपय कार्य अधुरा हुन पुगेका छन ।

ग्रासरुट फुटबलको विकाससँगै ब्राउन्ज मेम्बरशीप पाएका छौँ । अहिल्यैदेखि स्थानीय सरकारलाई ग्रासरुट कार्यक्रममा कसरी जोड्ने भन्ने पनि गृहकार्य गर्दै छौँ । यो कार्यक्रमका बारेमा स्थानीय सरोकारवालासँग छलफल गरेर यसको प्रभावकारिताका बारेमा पनि जानकारी गराइरहेका छौँ । स्थानीय लिडरसँग भेटेर ग्रासरुट कार्यक्रमलाई निरन्तरता दिनका लागि कसरी सहयोग पुग्छ भनेर छलफल गर्ने एन्फाले योजना बनाएको छ । अब यो नेतृत्वको चाहना सिल्भर मेम्बरसिप नै रहेको छ । यसबाहेक पनि फुटबल क्षेत्रको विकासका लागि धेरै कार्य गर्न पनि मेरो नेतृत्वको टिमको जित जरुरी छ ।