कोरोना संक्रमण फेरि देखिएपछि चीनमा विद्यालयहरु बन्द

एजेन्सी – चीनमा कोरोना भाइरस संक्रमण फेरि देखिएपछि बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ । कोरोनाको दोस्रो लहर फैलिने खतरा बढेपछि विद्यालय तथा मनोरञ्जनस्थलहरु बन्द गर्दै राजधानी बेइजिङमा कडा पाबन्दी लगाइएको छ ।

पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको भएपनि राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि कडा पावन्दी लगाइएको हो । बेइजिङमा ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट राखिएको छ भने बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ ।

खेल र मनोरन्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्नेहरुको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए ।