काठमाडौँ उपत्यकामा निषेधाज्ञा २४ गतेसम्म थपियो

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउन मन्त्रालयले सुझाव दिएकाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको हो । निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो । यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ।

यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो। यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय पनि बैठकले गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।