एकैदिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौँ – नेपालमा आज थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिहरुको संख्या २६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । नयाँ संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला छन् । कोरोना संक्रमण नेपालको ६५ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट संक्रमित भई उपचारपश्चाद् निको हुनेको संख्या २९० पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट अहिलेसम्म मृत्यु भएको संख्या १० पुगेको छ ।