कर्णाली प्रदेशमा १०६ जनामा कोरोना पुष्टि

काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०६ जनामा पोजेटिभ देखिएको छ । प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजा अनुसार दैलेखमा १०५ जनामा संक्रमण देखिनुका साथै मुगुमा पनि एक जनाको पोजेटिभ देखिएको छ ।

यस अघि विभिन्न समयमा कर्णाली प्रतिष्ठानबाटै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्ला सहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी आज एकाएक १०६ जनाको पोजेटिभ भएपछि कुल २१३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् यस्तै मुगुका १ जना रहेका छन् । संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् ।

यसैगरी एकै दिन यति धेरै पोजेटिभ देखिएपछि यहाँ त्रास बढेको छ । पोजेटिभ हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन् । जसमा ५ जना महिला छन् । यसैगरी देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगनीका ५ जना, बासकोटका १ जना रहेका छन् । यसैगरी मुगु खत्याडका १ जना पुरुषमा पोजेटिभ नतिजा देखिएको छ ।

हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।