कोरोना परीक्षण किट जर्मनीबाट ल्याउने तयारी

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि सरकारले थप किट ल्याउने भएको छ । परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

नेपाली सेनाले जर्मनीबाट ती कीट ल्याउन लागेको उनको भनाइ छ । मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो । अहिले ती सबै आरडिटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन । “पहिले आएका सबै कीट हामीले परीक्षणका लागि सबै ठाउँमा पठाएका छौँ । परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट कीट ल्याउँदैछौँ ।”

पिसिआरबाट भने क्षमताअनुसार परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ ।

त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ ।