ए डिभिजन क्लब मनाङले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ । मनाङले फुटबल एकेडेमी सञ्चालनका लागि मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग सम्झौता गरेको छ ।

पोखरामा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ र विद्यालयका प्रिन्सिपल कमल गुरुङले हस्ताक्षर गरे । एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे ।

सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् । आठ पटकको लिग च्याम्पियन मनाङले नेपाल आदर्शसँग ६ वर्षको सम्झौता गरेको हो ।