ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रातभर आगलागी

काठमाडौँ । पटक पटक आगलागी हुने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएरात पनि आगलागी भएको छ । गएरात लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ ।

गएरात १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।