के होला लकडाउन, आज बस्दैछ मन्त्रिपरिषद् बैठक

काठमाडौँ । गत चैत ११ देखि जारी लकडाउन भोलि सकिँदैछ । लकडाउनको समयावधि सकिन लागेकाले अब के गर्ने भन्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ । लकडाउन कतिदिन लम्बिने या कसरी जानेभन्ने बिषयमा मन्त्रिपरिषदको बैठक बस्ने भएको हो । यसअघि हिजो बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको थियो ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र डब्लुएचओले नेपालपनि जोखिममा रहेकाले शतर्क र सावधानी अपनाउनका लागि पनि ततकाल लकडाउन नखुल्ने निष्कर्ष समितिको छ । देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिमा राय सुझाव आएका हुन् । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको सुझाब छ ।

सानो हेलचेक्रयाईले ठुलो नोक्सान नहोस भन्नका लागि ततकाल लकडाउन खुला नहुने ठहर समितिले गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिका सदस्य एवं पर्यटनमन्त्री योगेश भटटराइले जानकारी दिनुभयो ।

हवाइ उडान जेठ २ सम्म बन्द

देशभित्र र अन्तराष्ट्रिय उडानमा गरिएको बन्द जेठ २ गतेसम्म कायम रहने भएको छ । शनिबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमा रोक लगाइएको थियो ।