लोयल्टीमा दैनिक भिडियोमार्फत पढाइ सुरु

काठमाडौँ–काठमाडौँको मण्डिखाटारस्थित लोयल्टी एकेडेमीमा दैनिक अनलाइनमार्फत पढाइ हुन थालेको छ । लोयल्टीले दैनिक तीन पटक भिडियो कक्षा सुरु गरेको हो । विहान ८ः३० बजेदेखि १० बजेसम्म, दिउँसो १२ः०० देखि १ः३० बजेसम्म र बेलुका ३ बजेदेखि ४ः३० बजेसम्म भिडियोमार्फत शिक्षण सिकाई सुरु गरिएको विद्यालयले जनाएको छ ।

लकडाउनका कारण घरमा रहेका विद्यार्थी लक्षित गरी सुरु गरिएको अनलाइन शिक्षण सिकाइका कारण विद्यार्थीलाई सन्तुष्टि मिलेको तथा अभिभावक पनि खुशी भएको विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

‘विशेष गरी एसइई लक्षित विद्यार्थीलाई हामीले यस्तो कार्यक्रम चलाएका हौँ । यसले विद्यार्थीलाई नजानेका, नबुझेका विषयमा विषय शिक्षक/शिक्षिकासँग सोध्न, आवश्यक जानकारी लिन सहज भएको छ । अभिभावकहरु पनि सन्तुष्ट हुनुहुन्छ ।’ उहाँले बताउनुभयो ।

विद्यालयको यस्तो अभियानले एसइईको पखाईमा बसेका विद्यार्थी लाभान्वित भएका छन् । लोयल्टीमा दैनिक गरिने अनलाइन कक्षाबाट विद्यार्थीहरुले गृहकार्य गरी अनलाइनमार्फत नै बुझाउने गरेको विद्यालयका शिक्षक वीरेन्द्र कुरुबाङ्गले जानकारी दिनुभयो ।

लकडाउन लम्बिँदै गएपछि राजधानीका नेक्सस, टिआइए लगायतका विद्यालयले पनि अनलाइन कक्षा सुरु गरेका छन् ।