कक्षा १०, ११ र १२ को परीक्षा कहिले ?

काठमाडौँ – लकडाउन नभएको भए यतिबेला कक्षा १० का विद्यार्थीहरु ब्रिजकोर्षको तयारीमा हुन्थे । कक्षा ११ र १२ का विद्यार्थीहरु परीक्षामा व्यस्त हुन्थे । तर,परीक्षाको अघिल्लो दिन कक्षा १० को परीक्षा सरकारले रोक्यो । राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ र ११ को पनि परीक्षा स्थगित गरेपछि अब कहिले हुने भन्ने अन्योल देखिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो । परीक्षाको अर्को मिति भने तोकिएको छैन।

‘कोरोना भाइरसका कारण देश लकडाउनमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डले सूचना जारी गरी जनाएको छ । लकडाउन खुलेपछि परीक्षाको अर्को मिति टुंगो लाग्ने बोर्डले जनाएको छ ।

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई परीक्षा पनि यसअघि नै रोकिएको थियो । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा थिए । कक्षा १० को अन्त्यमा लिइने एसइई परीक्षा सरकारले  गत ६ चैतदेखि   सञ्चालन गर्ने गरी तयारी  गरेकोमा कोरोनाका कारण स्थगित भएको थियो ।

२०७७ बैशाख ८ र २१ बाट  सञ्चालन गर्ने भनिएको कक्षा १२ र ११ को वार्षिक परीक्षा पनि सोही कारणबाटै  स्थगित भएको छ । यसबाट  आम विद्यार्थी यतिबेला चिन्तित देखिन्छन् । ११, १२ का झण्डै ५ लाख  र एसइईका  ४ लाख ८२ हजार २ सय १९  विद्यार्थी परीक्षाको आगामी तिथि मितिको पर्खाइमा छन् ।

अझ एसइईका परीक्षार्थी त देशभर कायम गरिएका १ हजार ९ सय ९७ परीक्षा केन्द्रमा पुुगी प्रवेशपत्र समेत हातमा लिई भोलिपल्ट परीक्षा दिन तयारी अवस्थामा रहेको बखत अप्रत्यासित कोरोना संकटका कारण अघिल्लो दिन ( ५ चैत ) साँझ परीक्षा स्थगनको सूचना पाए सँगै डेराबाट फर्केका थिए । यसैकारण  एसइई र कक्षा ११,१२ को परीक्षा र त्यस पछि हुने पढाइको चिन्ताले विद्यार्थी मात्र नभएर तिनीहरुका अभिभावक समेत पिरलोमा छन् ।

मन्त्री आन्तरिक छलफलमा

यसैबीच कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षालाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच छलफल भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा एक साता अघि सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो कन्फरेन्स भएको थियो ।

भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरु सम्बन्धित मन्त्रीहरुले दिएका थिए ।

शिक्षक महासंघको बेग्लै प्रस्ताव

यसैबीच, नेपाल शिक्षक महासंघले कक्षा १० को एसईई तथा कक्षा १२ को परीक्षाका लागि दुई वटा विकल्प प्रस्तुत गरेको छ ।

शिक्षक महासंघले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यस घडीमा परीक्षा सञ्चालनको छलफल र तर्क वितर्क कति सान्दर्भिक होला रु अहिलेको पहिलो सरोकार भनेको जीवन रक्षा नै हो ।

परीक्षा त मूल्याङ्कनको एउटा साधन मात्र हो । विद्यालयहरुले अवलम्बन गरेका मूल्याङ्कनका साधनहरुबाट विद्यार्थीहरुको समग्र स्तर निर्धारण गर्न सकिन्छ । परीक्षा सञ्चान गर्ने भन्दा पनि विद्यालय तहमा अध्ययन गर्ने झण्डै ७५ लाख विद्यार्थीहरुको शैक्षिक सत्र कसरी व्यवस्था गर्ने भन्ने विषय नै आजको प्रमुख सवाल हो ।” विद्यालय तहको कक्षा १० र कक्षा १२ को परीक्षा सम्बन्धमा तपसिलका २ विकल्पहरु अख्तियार गर्न सकिने छ ।
१.शिक्षा ऐन २०२८ को आठौं संशोधनको नियम ४ ट लाई अध्यादेश मार्फत संशोधन गरी विद्यालयले मूल्याङ्कनको रुपमा तय गरेको अन्तिम अभिलेखलाई आधार मानी राष्ट्रिय परीक्षा बोर्डले परिणाम सार्वजनिक गर्ने ।

२.परीक्षा सञ्चालन गर्न थप कार्यविधि बनाइ आवश्यकता अनुरुप होम सेन्टर निर्धारण गर्दै स्थानीय शैक्षिक प्रशासकहरुको उपस्थितिमा परीक्षा सञ्चालन गर्ने साथै उत्तरपुस्तिका पालिका तह मै संकलन गर्दै कोडिङ, डिकोडिङ, परीक्षण, समपरीक्षण र पुनःपरीक्षण ९पुनर्योग० गरी प्राप्त गरिएको अभिलेखको आधारमा राष्ट्रिय परीक्षा बोर्ड मार्फत परीक्षाफल सार्वजनिक गर्ने।