घोडाघोडी महोत्सव एकदिनका लागि स्थगित

सुखड,कैलाली ।
“स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका कैलालीको सुखडमा बिहिवारदेखि सुरु भएको घोडाघोडी महोत्सव एक दिनका लागि स्थगित भएको छ । घोडाघोडी मिडिया संचार समुहको आयोजनामा घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव बिहिवार सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी थिइन् ।

विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गरी पर्यटक बढाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव मौसम प्रतिकुलताका कारणले एक दिनको लागि स्थगित गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीद्बारा शुक्रबार हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

घोडाघोडी नगरपालिका भित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यमबाट प्रचार प्रसार गर्ने आयोजकको भनाइ छ । महोत्सवले घोडाघोडी क्षेत्रको मात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने आयोजकले जनाएको छ ।

माघ ४ गते कमला घिमिरे , अमृत सापकोटा तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।