माध्यमिक तहको ज्योतिष प्रशिक्षण सुरु, अनलाइनबाट घरमैँ ज्योतिष सिक्न सकिने

काठमाडौँ– नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिले ज्योतिष विद्या सिक्न चाहने हरुलाई लक्षित गरी माध्यमिक तहको ज्योतिष विषयको अध्यापन सुरु गरेको छ । अनलाइन माध्यमबाट सिक्न सकिने ज्योतिष प्रशिक्षणमा हाल ५६ जना सहभागी छन । यसअघि लुम्बिनी प्रदेश समितिले प्राथमिक तहको प्रशिक्षण ३५ जनालाई गराइसकेकाले अब माध्यमिक तहको प्रशिक्षण सुरु गरिएको ज्योतिषाचार्य एवं माध्यमिक तहको कार्यक्रम संयोजक केशव गौतमले जानकारी दिनुभयो ।

‘यसअघि प्रशिक्षण लिइसकेका वा यसअघि प्रशिक्षण लिन छुटेकाहरुलाई र नयाँ नयाँ ज्योतिष विद्या सिक्न चाहने हरुलाई लक्षित गरी हामीले कार्यक्रम सुरु गरेका हौँ ।’ उहाँले बताउनुयभो । यस कार्यक्रममा सहभागी हुनेले कुण्डलीको फलादेश, मतका आधारमा कुण्डली निक्र्यौल, शरीर लक्षण विज्ञानको अध्ययनका साथै घरजग्गाको आकार प्रकारबारेको वास्तुबारे पनि जानकारी पाउने उहाँले स्पष्ट पार्नुभयो ।

यसअघि लुम्बिनी प्रदेश समितिले प्राथमिक तहको पाठ्यक्रम सञ्चालन गरिसकेकाले अहिले माध्यमिक तहको पाठ्यक्रम सञ्चालन गर्न लागिएको उहाँको भनाई छ । छ महिनासम्म सञ्चालन हुने यस कार्यक्रममा मुख्य प्रशिक्षक प्रा.डा. अर्जुनप्रसाद भट्टराई रहनुहुनेछ भने प्रशिक्षको रुपमा ज्योतिषाचार्यद्धय केशव गौतम र कपिलदेव सुबेदी रहनुहुने आयोजकले जनाएको छ ।

घरमा रहेर रातिको समयमा हरेक दिन ८ बजेदेखि अनलाइनमार्फत कक्षा लिन सकिने आयोजकले जनाएको छ । फुर्सद मिलाएर घरबाटै विद्या लिन सकिने भएकाले भरपुर फाईदा लिन आयोजकले आग्रह गरेको छ । यससम्बन्धी थप जानकारी नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश समिति वा कार्यक्रम संयोजक केशव गौतमसँग सम्पर्क गर्न पनि सकिनेछ ।