आज संविधान दिवस

काठमाडौँ – आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने कार्यक्रम तय भएको छ ।

संविधान जारी भएको पाँच बर्षमा कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक तोकिएको अवधिमा सम्पन्न भएका छन । मौलिक हकका कानुन तीन वर्षको अवधिमा तर्जुमा भएका छन  ।

तर संविधानले परिकल्पना गरेका अन्य कतिपय संरचना अझै पूर्ण हुन सकेका छैनन । यस्तै संविधानले परिकल्पना गरेका कतिपय आयोगहरू अझै पदाधिकारीविहीन नै छन्  ।

संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा विभाजित छ र ऐन–मौकामा संविधान संशोधनको विषय उठाइरहेको पनि छ तर स्पष्ट विषय किटान गर्न नसक्दा सरकार र राजनीतिक दलबीच गहन विमर्श हुन सकेको छैन । मधेसकेन्द्रित राजनीतिक दलले राजनीतिक कार्यसूूचीका रूपमा भने संविधान संशोधनलाई उठाइरहेका छन् ।