बाह्रबिसे पहिरो अपडेट :११ जनाको मृत्यु, बेपत्ता भएका २० जनाको खोजी जारी

काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर सातका विभिन्न ठाउँमा आज बिहान पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ । पहिरोमा परेर अन्य २० जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवार रहेका छन् ।

बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ रहेका छन् । त्यसैगरी, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, काठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकको अवस्था पनि अज्ञात रहेको छ ।

पहिरोमा परी घाइते भएका तीन जनालाई उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भर्ना गरिएको छ । बेपत्ताहरुको स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरीले खोजी जारी राखेको छ । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएका हुन् ।

पहिरोमा परि नागपुजेको ६ घर, भीरखर्कको १२ घर र चनौटेको ८ घर गरी २४ घर पुरिएको प्रहरीले जानकारी दिएको छ । बा¥हबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार पहिरोले सबैभन्दा धेरै नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा असर पारेको छ । पहिरोले जमिन भास्सिएर अझ ठूलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलको नामोनिसान मेटिएको छ ।

घरसँगै थुप्रै मानिस हराइरहेका छन । पहिरो प्रभावित क्षेत्रमा दुई सय भन्दा बढी घरहरु उच्च जोखिममा रहेकाले स्थानान्तण गर्नुपर्ने देखिएको छ । भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।यसैबीच सभामुख अग्नि सापकोटा आइतबार सुरक्षाकर्मीसहित घटनास्थल पुगेर स्थानीयको अवस्था र उद्धार कार्यबारे जानकारी लिएका छन । उनले पहिरो आउनुको कारण र थप जोखिमको अवस्थाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका छन् ।।