-ईशा कार्की
प्रत्येक वर्ष, सेप्टेम्बर १० मा इन्टरनेशनल एसोसिएसन फर सुसाइड प्रिभेन्सनले विश्व आत्महत्या रोकथाम दिवसको आयोजना गर्छ। विश्व स्वास्थ्य सङ्गठन यस दिनको सह–प्रायोजक हो। यस दिनको उद्देश्य भनेको विश्वव्यापी रूपमा आत्महत्या रोकथाम गर्न सकिन्छ भनी चेतना जगाउनु हो। सेप्टेम्बर महिनालाई विश्व आत्महत्या रोकथाम महिना पनि भनिन्छ।
आत्महत्या जानाजानी आत्म हानिको एक प्रकार हो र आफूलाई मार्ने एक मानव कार्य को रूपमा परिभाषित छ। विश्व स्वास्थ्य सङ्गठनको अनुसार, प्रत्येक ४० सेकेन्डमा एक जना, प्रत्येक दिनमा ३००० जना र प्रत्येक वर्ष ८ लाख मानिसहरू आत्महत्याका कारण मर्छन्। १५ देखि २९ वर्ष उमेरका युवाहरूमा आत्महत्या मृत्युको तेस्रो प्रमुख कारण हो।
अहिले किन बढ्यो ?
वर्तमान समयमा कोभिड–१९ महामारीको कारण विश्वले धेरै कठिनाइहरूको सामना गरिरहेको छ। नेपालमा गत वर्षको चैत्र ११ बाट राष्ट्रव्यापी लकडाउन शुरू भएको थियो। नेपाल प्रहरीका अनुसार लकडाउनको पहिलो ७४ दिनमा १ हजार २२७ जनाले आफ्नो ज्यान गुमाए । विश्वमा आत्महत्या गर्ने व्यक्तिको हिसाबले नेपाल सातौं स्थानमा छ। लकडाउनदेखि यता आत्महत्याका घटनाहरूको संख्या २५ प्रतिशतले बृद्धि भएको छ।
लकडाउनले थुप्रै व्यक्तिको जीवनमा परिवर्तन ल्याएको छ। अधिकांश मानिसहरू घरैमा अड्किएका छन् । घरबाट काम गर्न बाध्य छन् र घरैबाट अध्ययन पनि गरिरहेका छन् । उनीहरूले आफ्ना साथी र परिवारका सदस्यहरू भेट्न पनि सकेका छैनन्।
लकडाउन बढेकोले मानव दिमागमा विभिन्न पक्षहरूबाट दबाब सिर्जना भइरहेको छ। कोभिड–१९ को महामारी (मानसिक तनाव, रोजगारी गुमाउँदाको चिन्ता, संक्रमित भइन्छ कि भन्ने डर, डिप्रेसन, अनिद्रा आदिसँग सम्बन्धित छ। यी सबै कारणहरू, नेपालमा आत्महत्या गर्नेहरूको संख्या वृद्धि हुनुसंँग सम्बन्धित रहेको छ।
नेपाल मात्र नभई, विश्वले नै कोभिड–१९ पछि पनि मानसिक स्वास्थ्य सम्बन्धी थुप्रै समस्याहरू पनि सामना गर्नुपर्ने स्थिति आउन सक्नेछ । लकडाउनको बखत घरेलु हिंसा पनि बढेको छ जसले मानिसहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरेको छ। यस माहामारीले व्यक्तिहरूको सामाजिक जीवनमा प्रतिबन्ध लगाएको छ।
धेरै व्यक्तिहरू एक्लो महसुस गरिरहेका छन्। बढ्दो लकडाउनले आम मानिसलाई बढी दबाब दिइरहेको छ। त्यसैमाथि भोकको भाइरस सधैं हाम्रो वरिपरी व्याप्त नै थियो।
मानसिक रोगको बारेमा अझै पनि नेपाली समाज खुल्न सकेको छैन। यस कारण धेरै मानसिक समस्याहरू दबिएका छन्। जो कोहीले पनि आफ्नो जीवनको कठिन समयको बारेमा भावना पोख्न खोज्दछ, उसलाई कमजोर मुटुको व्यक्ति भनि समाजले परिभाषित गरिदिन्छ।
हाम्रो समाजमा अझै पनि महिला पुरुषहरूको भावना यस्तो त्यस्तो हुनपर्छ भनेर छुटाइएको छ। धेरै व्यक्तिहरू यसै कारणले दोस्रो व्यक्तिसँग आफ्नो जीवनको कठिनाइ सुनाउन डराउँछन्। यो लकडाउनको क्रममा, धेरै समस्याहरूले सबैलाई एकैचोटि सताएको छ। यो विषम परिस्थितिमा, प्रत्येक व्यक्तिले आफ्नो मानसिक स्वास्थ्य र नजिकका वा वरिपरीका मानिसहरूको मानसिक स्वास्थ्यलाई पनि ध्यान केन्द्रित गर्नु पर्दछ।
के थाहा अवस्था कहिले ठीक हुन्छ, तर वर्तमान अवस्था नयाँ भएपनी सामान्य रूपझै अपनाउनुपर्ने समय आएको छ। निराशता, असहायता र लाचारी मुख्य कारकहरू हुन् जसले प्रायः एक व्यक्तिलाई आत्महत्या गर्नेतर्फ आकर्षित गर्दछन्।
एक नर्सिङ विद्यार्थीको रूपमा, मैले मानसिक समस्या भएका मानिसहरूसँग कुरा गर्ने अवसर पाएकी छु र उनीहरूका समस्या व्यथाहरू पनि सुनेको छु । मानसिक स्वास्थ्य छलफलको लागि एक ठूलो विषयवस्तु हो।
तपाईका वरपरका मानिसहरूलाई देखाउनुहोस् कि तपाई तिनीहरूको रेखदेख गर्नुहुन्छ, तिनीहरूको समस्या बुझ्नु हुन्छ । भनाई र गराईमा फरक छ तर कोसिस भने अवश्य गर्न सकिन्छ। यदि तपाईसामु कसैले आफ्नो ज्यान लिने धम्की देखाउँछन् भने, तत्काल सम्बन्धित अधिकारीहरूलाई (सुसाइड हटलाइन) फोन गर्नुहोस्।
कसैको आत्महत्याले मृतकलाई मात्र नभई ऊ सँग सम्बन्धित नातालाई पनि असर गर्दछ। हामी मध्ये धेरैले कसैलाई चिन्छौं जसले आफ्नै जीवन लिई सकेका छन् । गुमाएको हरेक जीवनले कसैको श्रीमान् र श्रीमती, बच्चा, अभिभावक, साथी, सहकर्मी वा छिमेकीलाई प्रतिनिधित्व गर्दछ। हामी सबैलाई जीवनको मूल्य थाहा हुनुपर्दछ र जतिसुकै नराम्रो अवस्था आएपनि आशा मार्नु हुँदैन।
सामाजिक सञ्जालमा हामीले थुप्रै पोष्ट हेर्नी बानी बसालेका छौ। कुनै समयमा त मन विचलित हुने पोष्टहरू पनि देखेका छौ। कहिले त आफ्नै चिनजान साथीभाइका पोष्टहरु पनि कताकता आत्महत्या सम्बन्धित मनसायका पोष्ट हुन्छन्। जब तपाईँले यस्तो पोष्ट देख्नुहुन्छ, तिनीहरूसँग कुरा गर्न एक क्षण लिनुहोस्, यसले केही न केही फरक पार्दछ।दिनको अन्त्यमा, आफ्नै वरिपरीका मान्छेहरू हाम्रा लागि महत्वपूर्ण हुन्छन् ।
यो अवस्था सामान्य हुन्छ वा हुँदैन, तर यसले पार्ने प्रभाव हामीमा लामो समय सम्म रहनेछ। हामी प्राय जसो समय सामाजिक सञ्जाल प्रयोग गरेर बिताउँछौं। के हामीले कहिल्यै हाम्रो छेउछाउ, आमा बुबा, हजुरबा हजुरआमाको बारेमा सोचेका छौं ? के हामीले उनीहरूसँग बस्न र हाम्रो गफहरू सुनाउन भ्याएका छौ त ? समय सही छैन, तर भएको समय अझ राम्रो बनाउन सकिन्छ। मानिसहरू रोगसँग लडिरहेको वेला र संसार त्रसित भएको वेला आफ्नो थोरै समय निकालेर अवस्य पनि आफ्ना व्यक्तिहरूलाई दिन सक्छौ।
आत्महत्या रोकथाम गर्न सकिन्छ । हामी सबै मिलि आत्महत्या रोकथाम गर्न योगदान पुर्याउन सक्छौ। म र तपाईं परिवर्तन गर्न सक्दछौं।
(कार्की जनमैत्री फाउन्डेसन इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा वि. एस.सी. नर्सिङ चौथो वर्षमा अध्ययनरत छात्रा हुन । )