निषेधाज्ञा खुकुलो पार्दै नाकामा कडाइ गर्न उपत्यका मेयर फोरमको सुझाव

काठमाडौँ – काठमाडौं उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । काठमाडौंमा आज बसेको फोरमको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाई गर्नुपर्ने फोरमको निष्कर्ष छ । सार्वजनिक यातायातलाई हालको लागि रोक लगाउन पनि फोरमले सुझाव दिएको छ । त्यस्तै स्थानीय तहबाट प्रदान भएको सेवा प्रवाहलाई आवस्यकता अनुसार नियमित रुपमा सूचारु गर्ने निर्णय पनि फोरमले गरेको छ ।

मेयर फोरमले यसबाहेक सरकारको विरोध र समर्थनमा -याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय पनि गरेको छ ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरुमा कोभिड मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्नुपर्ने माग पनि फोरमले गरेको छ । उद्योग भित्रै क्वारेन्टाइन निर्माण गरी मजदुर र कर्मचारी राख्ने व्यवास्था गरेपछि मात्रै उद्योग सञ्चालन गर्न दिनुपर्ने बैठकको निस्कर्ष छ ।

यस्तै फोरमले बिहीबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।