रोनाल्डोले रचे इतिहास

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सयौं अन्तर्राष्ट्रिय गोल गर्दै विश्व फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी देशको लागि १०० गोल गर्ने पहिलो युरोपियन फुटबलर बन्दै नयाँ इतिहास रच्न सफल भएका हुन् ।

युफा नेशन्स लिग अन्तर्गत स्वीडेन विरुद्ध करिब २५ यार्ड टाढाबाट हानेको कर्लिङ फ्रि किक प्रहार सुन्दर गोलमा परिणत भयो । जुन गोल उनको करियरकै विशेष गोल बन्यो । पोर्चुगलको लागि १६५ खेल खेल्दा १०० गोल गर्ने खेलाडीको रुपमा उनले किर्तिमान बनाएका हुन ।

राष्ट्रको लागि सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन। विश्व फुटबलमा भने सर्वाधिक गोल गर्ने सुचीमा रोनाल्डो दोस्रो स्थानमा छन। इरानका लिजेन्ड अलि दाइ १०९ गोल सहित पहिलो स्थानमा छन् । अलि र रोनाल्डोले‌ मात्र १०० अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका छन् ।

स्टार खेलाडी रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन २०१६ मा युरो कप जितेको थियो। साथै गत संस्करणमा नेदरल्याण्डसलाइ हराउदै नेसन्स लिगको उपाधि पनि जितेको थियो ।