थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ – नेपालमा आज थप ११ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ सय २० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४१ हजार ६४९ पुगेको छ । मन्त्रालयको नियमित लाइभ अपडेमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ११२ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

थप १२ जनाको मृत्यु

यसैबीच, नेपालमा मंगलबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार चितवनकी ५५ र १८ वर्षीय दुई महिला, काठमाडौकी ८९ वर्षीय एक महिला, ललीतपुरकी ७० वर्षीय एक महिला, तनहुँकी २० वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

त्यस्तै, कपिलवस्तुकी ६० वर्षीय एक महिला, बाराका ९७ वर्षीय एक पुरुष, चितवनका ६५ वर्षीय एक पुरुष, भक्तपुरका ४० वर्षीय एक पुरुष, काठमाडौँका ७० र ७५ वर्षीय दुई पुरुष, धादींगका ४७ वर्षीय एक पुरुषको पनि निधन भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको मन्त्रालयले जनाएको छ ।