विद्यालय भर्ना भदौ १५ सम्म स्थगित गर्न सिफारिस

काठमाडौँ – देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म विद्यालय भर्ना प्रक्रिया स्थगित गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो । बैठकले लामो दुरीका सवारी साधन र हवाइ यात्रा भदौ १५ गतेसम्म खुल्ला नगर्न सरकारलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको आगामी बैठकले यसवारेमा थप निर्णय गर्ने बताइएको छ ।

बैठकले देशभरी आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने पनि निर्णय गरेको छ । उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो ।

सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना नहुँदा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष पनि सीसीएमसी बैठकले निकालेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।

संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षित रहन पनि बैठकले आग्रह गरेको छ ।