थप तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।

अहिले देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै, सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।