किन सर्यो एन्फाको आकस्मिक बैठक

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आज १ बजे डाकिएको आकस्मिक बैठक अन्तिम समयमा स्थगित भएको छ । बैठक भोलि बस्ने भएको छ । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

नेम्बाङले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएका थिए । एन्फा प्रवक्ता किरण राईले बैठक मंगलबार दिउँसो २ बजे बस्ने खुल्लापाटीलाई जानकारी दिए । उनले भने –‘हाम्रो विधानमा आकस्मिक बैठकमा सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्ने नियम छ । आजको बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग अस्वस्थ हुनुभएको जानकारी आएकाले बैठक स्थगित गरिएको हो ।’

आकस्मिक बैठकका कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयले बैधता नपाउने एन्फा विधानमा उल्लेख छ । एन्फाले महत्वपूर्ण विषयमा निर्णय गर्न आपतकालिन बैठक बोलाएको थियो । एन्फाको मानार्थ अध्यक्ष पुनर्बहाली गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका विषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको थियो ।