५२ जिल्लामा कोरोना संक्रमण, एकै दिन थपिए १७० जना

काठमाडौँ – शुक्रबार एकैदिन आजसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार थप १७० जनामा संक्रमण देखिएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

डा देवकोटाका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु झापा कचनाकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष रहेका छन् । यस्तै झापाकै काकरभिट्टाका ३ जना रहेका छन् । उनीहरु २४ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उहाँले बताउनुभयो ।

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

नेपालमा कूल कोरोना संक्रमितको संख्या १ हजार २१२ जना पुगेको मा १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् । ती मध्ये २ सय ६ जना निको भएर घर फर्किएका छन् । कोरोना निको हुनेमा १ सय ६२ र महिला ४४ जना रहेका छन् । यस्तै हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रबार सम्म एक लाख नजिक क्वारेन्टाइनमा बस्नेहरुको संख्या छ । देशभरीका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् ।