लिम्पियाधुरा, लिपुलेक समेटेर नक्सा जारी गर्ने

काठमाडौँ – सरकारले दार्चुलाको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट संघीय संसदको दुवै सदनमा पेश गरेको कार्यक्रममा यस्ता विषय उल्लेख गरिएको छ । साथै अन्तर्राष्ट्रिय सीमा सुरक्षामा थप जनशक्ति परिचालन गर्दै सीमा विवाद समाधानका लागि पहल गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ । ‘नेपाल सरकार नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिबद्ध छ। अन्तराष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिइनेछ। ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समयसमयमा उठीरहेका विषयहरुको समाधान गरिनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ। तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।