बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी । वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

बहराइनमा कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ। जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ । कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका दूतावासले जनाएको छ ।

बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा सात जनाको मृत्यु भएको छ। बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ।