कोरोना त्रासमैँ फुटबल सुरु नगर्न फिफा अध्यक्षको आग्रह

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले तत्काल फुटबल सुरुवात गर्नु गैह्र जिम्मेवार हुने जनाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास अझै रहेकाले जति सक्दो छिटो रोकिएको फुटबल सुरु गर्नु गैर जिम्मेवार हुने बताएका हुन् ।

कोरोनाका कारण विश्वभरका खेलकुद गतिविधिसँगै घरेलु फुटबल पनि अनिश्चित कालका लागि स्थगित छ । महामारीकै त्रासका टोकियो ओलम्पिक, युरोप २०२० र कोपा अमेरिका एक वर्ष पछि सरिसकेका छन् । केही देश बेलारुस, बुरुन्डी, निकारागुआ र ताजकिस्तानमा भने फुटबल सञ्चालन भइरहेका छन् । अध्यक्ष इन्फान्टिनोले सुरक्षा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै खतरा मोल्नु भन्दा केही समय पर्खनु नै उचित हुने बताएका छन् ।

‘अहिलेको अवस्थामा सबैको चासो फुटबलमा छ । सबैमा अन्योलता रहेको छ । तर, म विश्वस्त छु कि हाम्रो फुटबलको भविष्य विगतको भन्दा पक्कै राम्रो भएर आउनेछ । तर, शतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल पुन सुरु गर्न खोज्नु गैरजिम्मेवारी हुनु हो ।’

अध्यक्ष इन्फान्टिनोले विश्वभरको आफ्नो सदस्य राष्ट्रलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।