महाशिवरात्रीको तयारी पूरा, यस्तो छ सवारी रुट

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको तयारी पूरा भएको जनाएको छ । महाशिवरात्रीका लागि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।

मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।

यस्तै सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको छ । सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।