नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

काठमाडौँ –नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि ‘क्युब्स इन स्पेस नासो २०२३’ कार्यक्रम हुने भएको छ । नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल एस्ट्रोनोमिक सोसाईटी नासोले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

नासोले विज्ञान प्रविधिका क्षेत्रमा सन् २००७ देखि अभियान चलाइरहेको छ । यही अक्टोबर २० देखि डिसेम्बर १५ सम्म संचालन हुने विशेष कार्यशालामा ११ देखि २० वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। देशभरीका विद्यार्थीहरुको पहुँच पुर्याउने हेतुले कार्यक्रम अनलाइनमार्फत गर्न लागिएको नासोका अध्यक्ष सुरेश भटट्टराईले जानकारी दिनुभयो ।

ईच्छुक विद्यार्थीहरुले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमको समापन भने काठमाडौंमा हुनेछ। क्युब्स इन स्पेशबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो –‘क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरीङ्ग डिजाईन कम्पिटिसन हो जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनिया स्थित क्युब्स इन स्पेसु को अफिस पठाउनुपर्ने हुन्छ।’ उहाँले स्पष्ट पार्नुभयो ।

क्युब्स इन स्पेस मा सहभागीताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५५ विद्यार्थी भर्ना गरिने नासोले जनाएको छ । सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु  डिजाईन गर्न लगाइनेछ। यो कार्यक्रमबाट सन् २०२४ मा दुईवटा क्युब्स अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन ९नासा० बाट अन्तरिक्षमा पठाईने उहाँले बताउनुभयो ।

यसअघि सन् २०२१ मा संचालित यस कार्यक्रमको पहिलो संकरणबाट छनौट भएका दुई परियोजनाको चार क्युब अन्तरिक्ष पठाईएको थियो। उक्त क्युबहरू अन्तरिक्षबाट फिर्ता ल्याई हाल नेपाल एष्ट्रोनोमिकल सोसाइटीको बत्तीसपुतलीस्थित कार्यालयमा सुरक्षित राखिएको छ।