संविधान दिवसमा ५९४ जनालाई मानपदवी, अलंकार र सम्मान

काठमाडौँ – सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्दैछ । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट चिकित्सक डा. सन्दुक रुइतलाई विभूषित गरिने भएको छ । यसैगरी सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ।