कोरोना संक्रमणका कारण टिचिङमा उपचाररत २० वर्षीय युवती र ७५ वर्षीय वृद्धको मृत्यु

काठमाडौँ – काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौँका ७५ वर्षीय वृद्ध छन्।

दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाले जानकारी दिए । तनहुँकी २० वर्षिया युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

यस्तै काठमाडौँका वृद्ध भने भदौ १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको रोगी रहेका उनलाई आइसियूमा भर्ना गरिएको थियो। उनको आइसियूमै उपचारको क्रममा मृत्यु भएको हो । दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।