श्रीकृष्ण जन्माष्टमीको महत्व, पूजा र व्रतविधि

भाद्रकृष्णपक्ष अष्टमी तिथिमा भगवान श्रीकृष्ण प्राकट्य हुनु भएकाले श्रीकृष्ण जन्माष्टमी पर्व भनेर समस्त हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्ण को पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउने परम्परा रहिआएको छ ।

ज्ञानयोग, कर्मयोग र उपासना एवम् भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि पनि भनिन्छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नु भएको थियोे।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपाल आदिजस्ता दानवी प्रवृत्तिको संहार गरि न्याय धर्म सदाचार र नैतिकताको मौलिक परम्पराको स्थापना गर्नु भएको थियोे ।

यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता सदाचार न्याय सत्कर्म तथा मानवीय कार्य र सद्भाव कायम गर्न सहयोग पुर्‍याउने छ ।

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो जातीयताका मौलिक सभ्यता र सम्पन्नताका सूचक हुन् । हामी सम्पूर्ण गोर्खाली /नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्‍भाव, सद्‌विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्‍न सकेउ भने मात्र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकिन्छ ।
सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादिहेतवे ।
तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः ।।
भगवानको दिव्यस्वभाव , दिव्यलीला र दिव्यकामको यसमा वर्णन पाइन्छ । अखिल ब्रह्माण्ड नायक , जगतका गुरु जो सत् , नित्य स्थायी भावमा सदा रहिरहने , चित् , ज्ञानशक्ति चेतना युक्त र आनन्द स्वरुप हुनु भएका अर्थात् पूर्णसत् , पूर्णज्ञान र पूर्ण आनन्द रुप हुने , जो तीन प्रकारको ताप आधिदैविक, आदिभौतिक तथा आध्यात्मिक तापहरुको नाश कर्ता , जो जगतको उत्पत्ति स्थिति र विनाशको हेतु यस्ता श्रीकृष्णलाई हामी बन्दना गर्दछौं ।

भगवान श्रीकृष्ण द्वापर युगमा मामा कंशको मथुरा कारागारमा रहेका पिता वसुदेव र माता देवकीको आठौं गर्भबाट बाह्र बजे रात्रि वहाँको जन्म भएको हो । अत्यन्तै पराक्रमी , अति प्रभावशाली , महान क्रान्तिकारी , कुशल धर्मज्ञ, महान व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्नु हुन्थ्यो ।

हातमा मुरली, शिरमा मयूंरको प्वाँख , शीतल बगैंचामुनि , जीवजन्तू र गाईका माझ , गोठाला हरुका साथमा गाई चराउंदै संसारलाई माया र प्रेम सिकाउने प्रेमका प्रति मूर्ति , साक्षात् परब्रह्म परमेश्वर सोह्र कलाले परिपूर्ण भगवान श्रीकृष्ण ,भदौ महिनाको कृष्णपक्ष अष्टमी तिथिका दिन अन्धकार लाई चिर्दै प्राकट्य हुनुभएको दिनलाई जन्माष्टमी वा मोहरात्रि पनि भन्ने गर्दछौं ।

भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरु सधै. अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरुलाई श्री कृष्णले निर्णायक भइ सहयोग गरेको पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेको जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो, तर कृष्णले कर्म गर्ने तर कर्मफल संग निःसंग रहने कर्मण्येवाधिकारस्ते…को नीति प्रत्येक पदमा अवलम्बन गर्नु भएको छ । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः. नै अवतरित हुन सक्छ ।

महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरुले स्वीकार गरेनन् तव श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरुलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो । प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । युद्ध पछि नया शक्तिहरुको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ । महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्धको प्रारम्भमा बजाइएको पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनि थियो ।

उनी एक महान योद्धामात्र होइनन् शान्तिदूतको रुपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरुलाई उनले उपदेश दिएका छन् त्यसैले उनी महान शिक्षक पनि हुन् र उनी जगद्गुरु पनि हुन् त्यसैलेत कृष्णं वन्दे जगद्गुरुम् भनिएको छ ।
भगवानको जन्मको मुख्य उद्देश्य भनेको
जहिले धर्मको ग्लानीपापको वृद्धिदेख्दछु।
त्यसै बखतमा पार्थ ! अवतार म गर्दछु ।।
हरेक युगमा साधु रक्षा दुष्ट विनाशन ।
धर्मको स्थापना गर्न हुन्छु उत्पन्न अर्जुन ।।

जहिले जहिले धर्मको लोप भइ , अधर्म अत्याचार दुराचार र अनाचारको प्रबलता फैलिन्छ र ती दुष्ट प्रवृत्तिलाई दमन र नाश गर्नका निमित्त र साधु सन्त र भक्त सज्जन महापुरुष हरुको रक्षा गर्नका निमित्त एवं धर्म कर्म , सदाचार शिष्टाचार लाई स्थापना गर्न हरेक युगमा भगवान श्रीकृष्णले अवतार ग्रहण गर्नु हुन्छ ।

भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् , उनका गुण अनन्त छन् ,उनको लिला अनन्त छन् उनका नाम अनन्त छन् , उनको महिमा अनन्त छन् , उनका कथा अनन्त छन् , उनमा ज्ञानको भण्डार अनन्त छन् , उनका शास्त्र अनन्त छन् ,उनको चरित्र अनन्त छन् । सन्त पुरुषहरुले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरुले पूर्णावतार मान्दछन् ।

अतः आउनुहोस् हामी पनि भगवानले दिनु भएको दिव्य सन्देश लाई अध्ययन गरि जीवनलाई सार्थक र भक्तिमय बनाई धर्म कर्म , परोपकार र सेवाको मार्गमा लागाअौं ,, भगवान लाई मान्नुका साथ साथै भगवानले भनेका कुरालाई पनि हामी मान्ने गरौं तबमात्र हाम्रो जीवन सार्थक सफल बन्नेछ ।

-केशव आचार्य