मनसुन सक्रिय : उच्च वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । एकैसाथ देशभर दुई वटा मौसमी प्रणाली सक्रिय भएपछि मुलुकभर भारी र अति भारी वर्षाको पूर्वानुमान गरिएको मौसमविद्ले जनाएका छन् ।

अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ। देशका पुर्व तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ ।

भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले अपिल गरेको छ । अन्यत्र पनि बाढी र डुबानको खतरा रहनेछ । यसपालाको मनसुन नेपालको पश्चिमी भागमा केन्द्रित हुँदैछ ।

विभागले जारी गरेको विशेष बुलेटिनअनुसार प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ ।