इस्टुले भन्यो : विद्यार्थीसँग शुल्क उठाएर तलब देऊ

काठमाडौँ – संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गरेको छ । इस्टुले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

इस्टुले शिक्षा तथा मावन स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण गराएको हो । । इस्टुका अध्यक्ष होमकुमार थापाले सरकारले तोकेअनुसार एक महिनाको शुल्क मिनाहा गरेर अन्य महिनाको शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेको जानकारी दिनुभयो । विद्यालयले शुल्क नलिँदा आर्थिक समस्या पर्ने भन्दै शुल्क लिन र तलब दिन उहाँले आग्रह गर्नुभयो ।

गत चैत्रमा सरकारले एक महिनाको शुल्क मिनाहा गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि निजी विद्यालयका संगठनले शुल्क नउठाउन सदस्य विद्यालयलाई निर्देशन दिएका थिए । तर लकडाउन लामो समयसम्म भएको भन्दै घरभाडा, बैंक र वित्तीय संस्थाको ऋणको ब्याज, शिक्षक कर्मचारीको तलब दिन अभिभावकसँग शुल्क उठाउनुपर्ने आवाज निजी विद्यालय सञ्चालकले गर्दै आएका छन् ।

इस्टुका अनुसार देशभर २ लाख शिक्षक कर्मचारीले निजी विद्यालयमा शिक्षण गर्दै आएका छन् । अभिभावकसँग शुल्क उठाउन नसकेपछि निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब खुवाउन सकेका छैनन ।