आजदेखि वैकल्पिक शिक्षण, सरकारी र निजीको आ–आफ्नै व्यवस्था

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत्र ११ देखि घरमैँ रहन बाध्य बालबालिकालाई वैकल्पिक शिक्षणमार्फत समेटने गरी आजदेखि रेडियो, टेलिभिजनबाट शिक्षण सुरु हुँदैछ ।

सरकार र निजी शैक्षिक संस्थाले छुट्टाछुट्टै टेलिभिजनबाट शिक्षण सिकाई सुरु गर्दैछन् । सरकारले विद्यार्थीलाई रेडियो र टिभीबाट पढाउन दुई हप्ते रुटिन सार्वजनिक गरेको छ ।

सरकारको आग्रह बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य सामग्री आजदेखि प्रसारण गर्दैछ भने निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले पनि विभिन्न तीन ओटा टेलिभिजनबाट आजदेखि शिक्षण गराउँदैछ ।

शिक्षा मानवस्रोत तथा विकास केन्द्रका अनुसार कक्षा ९ र १० को विषयगत पाठहरु डिस होम, नेट टिभि, म्याक्स टिभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुनेछन् । कक्षा १ देखि ८ सम्मको भने एनटिभि प्लसबाट पढाइ हुने केन्द्रले जनाएको छ । कक्षा ९ र १० मा दिनको ४ घण्टा प्रतिकक्षा ३५ मिनेटका दरले ६ विषयमा पढाइ हुने केन्द्रले जनाएको छ । केन्द्रले अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक र स्वास्थ्य जनसंख्या वातावरण पढाउन लागेको हो ।

प्याब्सनको छुट्टै तयारी
यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनले पनि जनता, टिभी टुडे र यो हो टेलिभिजनबाट शिक्षण गराउन लागेको छ । यसको सम्पूर्ण तयारी पूरा भएको प्याब्सन दुरशिक्षा कार्यक्रम समिति संयोजक गोपाल आचार्यले खुल्लापाटीलाई जानकारी दिए ।

योहो टेलिभिजनमा कक्षा नर्सरीको ९ः१५ देखि १०ः०० बजेसम्म , कक्षा एलकेजीको १ बजेर १५ मिनेटदेखि २ बजेसम्म,
कक्षा युकेजीको २ बजेर १५ मिनेटदेखि ३ बजेसम्म र वानको ३ बजेर १५ मिनेटदेखि ४ बजेसम्म पढाइ हुनेछ ।

त्यस्तै, टिभी टुडेबाट कक्षा २ देखि ६ कक्षा सम्मका विद्यार्थीलाई शिक्षण गराइने भएको छ । टिभी टुडेले दुई बजेर ५५ मिनेटदेखि ५ बजेसम्म प्रसारण गर्नेछ । प्राथमिक तहमा कक्षा दुईको २ बजेर ५५ मिनेटदेखि ३ बजेर २० मिनेटसम्म, कक्षा तीनको ३ बजेर २० देखि ३ बजेर ४५ सम्म, कक्षा ४ को ३ बजेर ४५ मिनेटदेखि ४ बजेर १० मिनेटसम्म, कक्षा ५ को ४ बजेर १० मिनेदेखि ४ बजेर ३५, कक्षा ६ को ४ बजेर ३५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कक्षा सञ्चालन हुनेछ ।

त्यस्तै जनता टेलिभिजनबाट कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थीलाई शिक्षण गराइनेछ । जनता टेलिभिजनले विहान १० बजेर ५ मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म प्रसारण गर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो।