त्रिविले जारी गर्यो अनलाइन कक्षा सञ्चालन निर्देशिका, हाजिरी अनिवार्य

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पस, विभाग र स्कुलमा अनालाइनमार्फत पठनपाठन गराउन निर्देशिका जारी गरेको छ । अनलाइन बाट कक्षा सञ्चालन गर्नका लागि निर्देशिका २०७७ कार्यकारी परिषद्बाट स्वीकृत गरेको छ । अनलाइन कक्षामा हुनसक्ने कमीकमजोरीलाई रोक्न निर्देशिका जारी गरिएको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

लकडाउनको समयावधि लम्बिएसँगै नेपालका सबै विश्वविद्यालय अनलाइन कक्षा चलाउन थालेका छन् । विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने सक्ने प्रावधान राखिएको छ । साथै, त्रिविका स्कुल, विभाग र क्याम्पसबाहेक पूर्णकालिन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन पनि रोक लगाएको छ ।

यस अघि प्राध्याकपहरुले अनुगमन निर्देशनालयको अनुमति लिएर मात्र अन्य कलेजमा अध्यापन गराउँदै आएका थिए । अनलाइन कक्षामा सहभागी हुन शिक्षकहरुलाई अनुमति नदिने विश्वविद्यालयले प्रष्ट पारेको छ । कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धीत विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

कतिपय शिक्षक विद्यार्थीले भने इन्टरनेट र आवश्यक स्मार्ट फोन, ल्यापटप र कम्प्युटरको कारण अनलाइन कक्षमा सहभागी हुन नसक्ने गुनासो गर्दै आएका छन् । त्यसका लागि सहुलियतमा इन्टरनेट उपलब्ध गराउन सेवा प्रदायकहरुसँग छलफल चलिरहेको रेक्टर शिवलाल भुषालले जनाए ।

विश्वविद्यालयले स्कुल, कलेज र विभागका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराउने बताइएको छ । अनलाइन कक्षामा विद्यार्थीले शिक्षकसँग संवाद गर्दा आदरार्थी शब्दहरुको प्रयोग गर्दै अन्तरक्रियात्मक वातावरणमा पठनपाठन गर्नुपर्ने निर्देशिका जारी गरिएको छ । अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडियो इत्यादिहरुको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ ।

सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले प्रतिलिपी अधिकारको रक्षा गर्नुपर्नेछ । बौद्धिक चोरी गर्ने कार्य गर्न नहुने, शिक्षक, कर्मचारी, विद्यार्थीहरुले व्यक्तिको गोपनीयताको हकको पालना गर्नुपर्ने, कुनै पनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीहरुले फेसबुकलगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृति विना राख्न नहुने निर्देशिकामा उल्लेख छ ।

शिक्षक विद्यार्थीहरुले अनलाइन कक्षाहरु भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नुपर्ने जनाइएको छ । आचारसंहिताबाहेक त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचार संहिता समेत पालना गर्न आग्रह गरिएको छ । चैत्र १० गतेदेखि नै सञ्चालित अनलाइन कक्षालाई नियमित कक्षासरह पाठ्यभारमा गणना गर्ने निर्णय कार्यकारी परिषद् र पाज्ञिक परिषद्ले गरिसकेको छ ।

शिक्षक तथा विद्यार्थीको हाजिरीसमेत राख्न विश्वविद्यालयले निर्देशन दिएको छ । त्रिविका अधिकांश विभाग र क्याम्पसले जुम, गुगल, एमएस टिमबाट अनलाइन कक्षा चलाउदै आएका छन् । कक्षा र हाजिरीको प्रमाणित सम्बन्धित विभागीय प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको हो । सोही हाजिरीका आधारमा शिक्षकलाई पारिश्रमिक र विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।

अनलाइन कक्षामा काम गर्ने प्राविधिक कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रत्येक अनलाइन कक्षाहरुको रेकर्ड राख्नुपर्ने र उक्त रेकर्ड सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेलमार्फत् पठाउनु पर्नेछ । कुनै कारणवंश कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई रेकर्ड उपलब्ध गराइनेछ ।

त्रिविले कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, द्रूतगतिमा चल्ने ल्यापटप तथा कम्प्युटर र फोन, बिजुली समेतको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।