काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा अस्पतालले कोरोना संक्रमणका कारण मृत घोषणा गरेको एक महिला व्यूँतिएपछि परिवारमा खुशी फर्केको छ ।
कोरोना संक्रमित ७४ वर्षकी अल्बा मारुरीलाई अस्पतालले मृत घोषित गरेको भए पनि उनी जीवितै फेला परेकी हुन् । यतिसम्मकी अस्पतालले परिवारका सदस्यलाई उनको अस्तु (खरानी) नै भनेर पठाइसकेको थियो ।
तर, तीन हप्ता कोमा बसाइपछि बिहीबार उनी एकाएक व्यूँझिइन् र आफ्नी बहिनीलाई फोन गरिदिन डाक्टरसँग आग्रह गरिन् । यस्तो थाहा पाएपछि उनको परिवारको खुशीको सीमा रहने कुरै भएन ।
यता अस्पतालले पहिचानमा भूल हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरेर आफूबाट गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ ।