विश्वचर्चित कलाकारले दिए कन्सर्ट

एजेन्सी- विश्व चर्चित गायक गायिकाहरुले कोरोना भाइरस महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मान तथा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन कन्सर्ट गरेका छन् ।

ग्लोबल सिटिजन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संलग्नतामा भएको कार्यक्रममा विश्व चर्चित अमेरिकन गायिका लेडी गागालगायत एक सय बढी कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

शनिबार इन्टरनेटमार्फत प्रसारित उक्त कार्यक्रमलाई ‘वन वल्र्ड, टुगेदर एट होम’ नाम दिइएको थियो । कार्यक्रममा सहभागी सबै कलाकारहरुले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका थिए ।

डब्लुएचओलाई आर्थिक सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

आठ घण्टासम्म चलेको अनलाइन कन्सर्टमा सहभागी कलाकारहरुले कोरोनाविरुद्धको कार्यमा सहभागी स्वास्थ्यकर्मीहरुप्रति सम्मान प्रकट गरेका थिए ।

साथै, यो कार्यक्रम पैसा कमाउने उद्देश्यले मात्रै आयोजना नभई जनचेतना अभिवृद्धिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैको भनाइ थियो ।